काठमाडौं– नेपाली कांग्रेस डडेलधुराका प्रतिनिधिले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन्।
देउवाको गृहजिल्ला डडेलधुराका प्रतिनिधिले सोमबार दिउँसो राष्ट्रिय सभागृहको प्रवेशद्वार अगाडि उनीविरुद्ध मुर्दावादको नारा लगाएका हुन्।
देउवाले राष्ट्रिय सभागृहभित्र रहेको मतदान केन्द्रमा मतदान गरेर बाहिर निस्किने क्रममा उनीविरुद्ध नाराबाजी भएको हो। त्यसक्रममा प्रहरीले बल प्रयोग गरेर देउवालाई सुरक्षित स्थानमा लगेको छ।
डडेलधुराका एक प्रतिनिधिले देउवालाई 'जुत्ता प्रहार' गर्ने योजना रहेको सुनाए। डडेलधुरमा क्रियाशील सदस्यता र प्रतिनिधि छनोटमा विवाद थियो। डडेलधुराका कांग्रेस सभापतिसहितका नेता कार्यकर्ता कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका बेला देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको इतरपक्षको आरोप छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले मतदान चलिरहेको छ। राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदानस्थल राखिएको छ। बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मतपत्र छपाईमा भएको ढिलाइले दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो।
कांग्रेसको सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाका साथै नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।