फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसको १४औ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका गगन थापाले आफ्नोपक्षको टिम नै विजयी हुने दाबी गरेका छन्। उनले पहिलो चरणबाटै नतिजा आउने दाबी गरे।
‘अब लाखौं नयाँ मानिसहरुलाई कांग्रेसमा जोडेर पहिलो पार्टी बनाउनुपर्नेछ,’ महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यहाँ नआएका मान्छेलाई कांग्रेस बनाउनुपर्ने छ। अनि मात्र नेपाली कांग्रेस पहिलो पार्टी बन्नेछ।’ कांग्रेसलाई कांग्रेसजस्तो बनाउने आफूहरुको सङ्कल्प रहेकाले महाधिवेशन प्रतिनिधिहरुले साथ दिने उनले बताए।
‘पार्टीलाई थप सशक्त र सुदृढ बनाउने हो। हामीले जन्मँदा देखेको जस्तो कांग्रेस थियो अहिले पनि त्यस्तै बनाउने हो,’ उनले भने, ‘मेरो विचारमा पहिलो चरणमै नतिजा निस्कन्छ र हामी सम्पूर्ण टिमसहित जित हात पार्नेछौं।’
आफूहरुले जिते पनि वर्तमान सरकारलाई नै अघि बढाएर आमनिर्वाचन गराउने उनले बताए। उक्त निर्वाचनमा नेपाली कांग्रेसले शानदार विजयी हासिल गर्ने उनले दाबी गरे। उनले निर्वाचनपछि कुनै पनि गुट नहुने दाबी गरे।
‘अहिले हामी एउटा समूहबाट प्रतिनिधित्व गरेका छौं, जितेपछि यो रहँदैन,’ उनले भने, ‘हामी सबैको साझा हुनेछौं। यो समूह अन्त्य भएर हामी सबैको हुनेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।