काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले ४ हजार ७४३ जना महाधिवेशन प्रितिनिधमध्ये ४ हजार ६७९ जनाले मतदान गरेको बताए।
६४ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेनन्। मतदान सकिएर मतदान केन्द्रको मुचुल्का उठाइ, मतपेटीकाहरु सिलबन्दी गरेर मतगणना केन्द्रमा ल्याइएको छ।
मतगणनास्थलमा आवश्यक सबै तयारी पूरा गरेर सभापति पदको मतगणना सुरु हुनेछ।
सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने भएको छ। सभापतिका उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ।
दोस्रो चरणको मतदानमा सबैभन्दा धेरै मत ल्याउने २ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।
कांग्रेसको भावी सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवासहित ५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
सभापतिमा देउवासहित नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।