काठमाडौं– नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना सुरु भएको हो।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकारीहरुले मतगणना सुरु भएको ३ घण्टाभित्र सभापति पदको परिणाम सार्वजनिक हुने यसअघि नै बताएका थिए।
सोमबार दिउँसोदेखि भएको मतदान राति करिब १२ बजे मात्रै सकिएको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको छ।
कृष्ण पौडेलले ४ हजार ७४३ जना महाधिवेशन प्रितिनिधमध्ये ४ हजार ६७९ जनाले मतदान गरेको बताए। ६४ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेनन्।
सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने भएको छ। सभापतिका उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ।
दोस्रो चरणको मतदानमा सबैभन्दा धेरै मत ल्याउने २ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।
कांग्रेसको भावी सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवासहित ५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
सभापतिमा देउवासहित नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।