काठमाडौं- कांग्रेसको आमागी सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका पाँचै जना उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने भएको हो।
४६८१ मत खसेकोमा सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाएका थिए। उनले पाएको मत ४८.२३ प्रतिशत हो। उनका प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ मत मात्रै पाए। कोइरालाले पाएको मत ३६.९३ प्रतिशत हो।
देउवाले कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेका थिए। तर पहिलो चरणमा जित निकाल्न सकेनन्। उनलाई ८३ मत कम भएको हो।
तेह्रौं महाधिवेशनमा जस्तै सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ। तर पहिलो चरणको मतदानमा देउवा तेह्रौं महाधिवेशनमा भन्दा कमजोर देखिएका छन्। त्यतिबेला उनी गठबन्धन नबनाइकन प्रतिस्पर्धामा होमिएका थिए, अहिले सिटौलासँग गठबन्धन गरेका हुन्।
तेह्रौं महाधिवेशन अन्तर्गत २०७२ फागुन २३ गते भएको पहिलो चरणको मतदानमा देउवाले १५६४ मत पाएका थिए। त्यतिबेला कुल ३१४८ मत खसेको थियो। त्यतिबेला उनको मत ४९.६८ प्रतिशत थियो। उनलाई जितका लागि ११ मत मात्रै पुगेको थिएन। उनका प्रतिस्पर्धी रामचन्द्र पौडेलले ११६० मत पाएका थिए।
त्यतिबेला पहिलो चरणमा ३२४ मत पाएका सिटौलाले उनलाई दोस्रो चरणमा सघाएका थिए। त्यसपछि भने उनले सहज जित निकालेका थिए। फागुन २४ गते सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ३१६१ मतदातामध्ये ३१४० मत खसेको थियो। त्यसमध्ये २२ मत बदर भएको थियो। जसमध्ये देउवाले १८२२ मत पाए। पौडेलले भने १२९६ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।