काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। यद्यपि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले औपचारिक रुपमा भने मतपरिणाम घोषणा गरेको छैन।
सोमबार भएको निर्वाचनमा सभापति पदका ५ जना प्रतिस्पर्धीमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो।
कांग्रेसका ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबारको निर्वाचनमा ४५७४ जनाले मतदान गरेका थिए। सोमबारको निर्वाचनमा भने ४६७९ प्रतिनिधिले मतदान गरेका थिए।
सभापतिका प्रतिस्पर्धीमध्ये सोमबारको मतदानमा शेरबहादुर देउवाले २२५८ डा शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत ल्याएका थिए।
सबैभन्दा बढी मत ल्याउने २ जना उम्मेदवार देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा भएको थियो। दोस्रो चरणको निर्वाचनमा शेखरले पहिलो चरणको तुलनामा ११५ मत बढी ल्याए।
दोस्रो चरणमा केही मत थपे पनि शेखरले हार भने टार्न सकेनन्। सभापतिको प्रतिस्पर्धामा शेखर देउवासँग पराजित भएका छन्।
देउवा र शेखरबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा पहिलो चरणमा सभापतिका प्रतिस्पर्धी रहेका अन्य ३ जना प्रतिस्पर्धी (प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ)ले देउवालाई समर्थन गरेका थिए।
देउवा २७२४ मत ल्याउँदै सभापतिमा विजयी भए भने कोइरालाले १८१७ मत ल्याए। दोस्रो चरणको निर्वाचनमा ३३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।