काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पदाधिकारीको मत गणना आजै सुरु हुने भएको छ। १४औं महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थालनी गरिने जानकारी दिए।
अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ। मत गणना सानेपामै गर्ने तयारी छ। अब पहिले महामन्त्रीलगायत पदाधिकारीको गणना हुने उनले बताए। लगातार गणना गरी एक साताभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी निर्वाचन समितिको छ।
महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भएका छन्। प्रतिस्पर्धी शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्।
सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७३३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८५५ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।