काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाले मतदातालाई धन्यवाद दिएका छन्। बुधबार बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रो पटक सभापति भएका हुन्।
कुल ४६ सय २३ मत खसेकामा देउवाले २७ सय ३३ मत पाए भने कोइरालाले १८ सय ५५ मत पाए। ३५ मत बदर भएको थियो।
जितपछि सभापति देउवाले सामाजिक संजालमार्फत मत दिने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिएका हुन्। उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी भएर मलाई सभापतिमा विजयी गराउनु हुने जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि लगायत सम्पूर्ण शुभचिन्तक, सहृदयी साथीहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।’
पहिलो चरणमा पाँच प्रतिस्पर्धीमध्ये प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।