काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्। देउवा पुनः सभापतिमा निर्वाचित भएपछि विज्ञप्ति जारी गर्दै पौडेलले बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
राष्ट्रिय र पार्टी जीवन इतिहासको अत्यन्त गम्भीर मोडमा पुगेको उल्लेख गर्दै सन्देशमा पौडेलले देउवाबाट सकारात्मक भूमिका निर्वाह हुने अपेक्षा गरेका छन्। साथै उनले देउवाबाट एकताबद्ध कांग्रेस निर्माण हुने अपेक्षा पनि राखेका छन्।
‘एकातिर सात दशक लामो संघर्षबाट स्थापित लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छ,’ पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो।’
कांग्रेसको १४ महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा दोहोरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।