काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित चन्द्र भण्डारीले आफूलाई मतदान गर्ने सबै प्रतिनिधिलाई धन्यवाद दिएका छन्। उनले सभापतिमा निर्वाचित शेरबहादुर देउलालाई बधाई दिँदै कांग्रेसलाई एकढिक्का बनाउन आग्रह समेत गरेका छन्।
'आदरणीय पार्टी सभापतिज्यूलाई पुनः बधाई दिँदै यस आन्तरिक प्रतिस्पर्धालाई प्रजातान्त्रिक प्रक्रियाका रुपमा ग्रहण गरि पार्टीलाई एकढिक्का बनाइ माथि उठी पार्टी र देशको नेतृत्व गर्नु हुन अनुरोध गर्दछु', उनले भनेका छन्।
आफूलाई मतदान गर्ने प्रतिनिधिहरूको विश्वासलाई सम्मान गर्दै भविष्यमा प्रश्न उठ्ने कुनै पनि काम नगर्ने प्रतिवद्धता पनि जनाएका छन्।
'हामीलाई विश्वास गरि मत प्रदान गर्ने प्रतिनिधिप्रति हामी नतमस्तक छौं। र, अब प्रण गर्दछौं कि हजुरहरुले आशा गरे अनुरूपको नेपाली कांग्रेस बनाउन दत्तचित्त भइ लाग्नेछौं। तपाईंहरुको विश्वासलाई सम्मान गर्दै भविष्यमा हामीले कुनै प्रश्न उठ्ने कर्म गर्ने छैनौं र अरुलाई पनि रोक्ने छौं', भण्डारीले भनेका छन्।
उनले कांग्रेसको चौधौं महाधिवेशनले परिवर्तनको मार्गलाई अगाडि बढाएको कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको मुद्दा स्थापित गर्न आफूहरू सफल भएको बताएका छन्।
बुधबार राति भएको मतगणनामा भण्डारी उपसभापतिमा पराजित भएका थिए। उनी शेखर कोइराला समूहबाट उम्मेदवार थिए। कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।
अहिले कांग्रेस केन्द्रीय कार्यालयमा महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। जसमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।