काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित प्रदीप पौडेलले पार्टीमा पुस्तान्तरण भएको प्रतिक्रिया दिएका छन्। अब वैचारिक रुपान्तरण जरुरी भएको उनको भनाइ छ।
महामन्त्रीमा पराजय भएपछि कांग्रेस कार्यालय सानेपाबाट बाहिरिँदै गर्दा उनले भने, 'पार्टीमा पुस्तान्तरण भएको छ। वैचारिक रूपान्तरणको नेतृत्व साथीहरुले गर्नुहुन्छ भन्ने विश्वास छ।'
उनले लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन लड्दा जित–हार स्वाभाविक रहेको बताउँदै आफूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सघाउने बताए। उनले थपे, 'मतदाताले उहाँहरुलाई रोज्नुभयो। उहाँहरु चुनिनुभयो। अब म पार्टीमा उहाँहरुलाई सघाउँछु।'
खारिएको नेतृत्व र नयाँ पुस्ताको मिश्रण भएकाले पार्टी अझै राम्रोसँग अघि बढ्ने उनले बताए। मैदानमा उत्रिनुअघि सबैलाई जित्ने विश्वास हुने बताउँदै आफूपनि जित्नकै लागि उम्मेदवार बनेको उनले प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।