काठमाडौं– लोक तथा दोहोरी गायक विमलराज क्षेत्री कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका छन्। क्षेत्रीले ४७१ मत प्राप्त गरी ७६औं स्थानको मत ल्याएका छन्। क्षेत्रीले खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए।
३५ जना चयन हुने खुला केन्द्रीय सदस्यमा ९९ जनाकोे उम्मेदवारी परेको थियो। क्षेत्रीलाई सभापति शेरबहादुर देउवा र डा शेखर कोइराला कुनै पनि पक्षले आफ्नो सूचीमा राखेको थिएन।
गायक क्षेत्री पर्वतबाट महाधिवशेन प्रतिनिधि चयन भएका थिए। क्षेत्रीको कांग्रेसमा आवद्धता धेरै वर्ष अघि देखिको हो। उनी ट्रेड युनियन कांग्रेसमा समेत आवद्ध थिए। कांग्रेसको प्रचारका लागि क्षेत्रीले गाएको ‘सुन सुन साथी’ बोलको गीत पार्टीका सभा तथा सम्मेलनमा सर्वाधिक बज्ने गीतमा पर्दछ।
एकनारायण भण्डारीको शब्द र संगीत रहेको उक्त गीतमा क्षेत्री र रीतु थापाको युगल स्वर रहेको छ। उक्त गीत २०१७ देखि बजारमा आएको थियो। नेता रामचन्द्र पौडेलको पक्षमा प्रचारमा सहयोग पुग्नेगरी समेत उनले गीत गाएका छन्।
‘छैन नि जालझेल,
असल छवि असल नेता। रामचन्द्र पौडेल।।’
पौडेलको शब्द रचना रहेको ‘बीपी सम्झेर’ गीतमा पनि क्षेत्रीले स्वर र संगीत दिएका छन्। साथै, ‘कांग्रेसको सिपाही म’ गीतमा क्षेत्री र स्मृति शाहीले स्वर दिएका छन्। उक्त गीतको शब्द भने मणि अर्यालले लेखेका छन्। ‘कांग्रेसको मुटुमा’ गीत उनले २०१७ मा बजारमा ल्याएका थिए।
पार्टीले आयोजना गर्ने सभा तथा सम्मेलनमा समेत उनले कांग्रेसको पक्षमा गीत गाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।