काठमाडौं– नेपालमा थप १ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) देखा परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ५८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।
प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन्। उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको पनि जानकारी दिइन्।
योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको संख्या ३ पुगेको छ। यसअघि दुई जनामा पहिलोपटक ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पहिलोपटक ओमिक्रोन भेटिएकाहरु भने हाल निको (संक्रमण मुक्त) भइसकेका जनाइएको छ।
त्यस्तै, २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको मिश्राको भनाइ छ। उनका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन्।
संक्रमितम्धये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।