काठमाडौं- कोभिड-१९ विरुद्धको खोप लगाएको छ महिनापछि शरीरमा एन्टिबडी कम हुने विभिन्न अध्ययनले देखाएको छ। शरीरमा एन्टिबडी कम हुँदै गएपछि कोरोना संक्रमणको जोखिम बढ्दै जान्छ।
पूर्णमात्रा खोप लगाइसकेपछि शरीरमा एन्टिबडी कम हुँदै जाँदा पुनः एन्टिबडी बढाउन लगाइने खोप हो, बुस्टर डोज।
सरकारले हाल कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिने सरकारको तयारी छ।
एक पटक खोप लगाइसकेपछि एन्टिबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन बुस्टर डोज आवश्यक पर्ने सूक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन्।
उनले भने, ‘एक पटक खोप लगाइसकेपछि एन्टिबडी बनाउने कोषिकाले केही समयपछि बिर्सन्छ। ती कोषिकालाई सक्रिय बनाउन पुनः खोप दिइन्छ। जसले गर्दा एन्टिबडी बनाउने कोषिका सक्रिय भइ पुनः संक्रमण हुनबाट बचाउँछ।’
इजरायलसहित केही राष्ट्रले चौथो बुस्टर डोज लगाउन लागेकाले पनि नेपालमा बुस्टर डोज सुरु गर्नुपर्ने उनले बताए। ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर बुस्टर डोज दिनुपर्नेमा उनको जोड छ।
हाल देखिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले पनि काम गर्ने उनी बताउँछन्।
‘सरकारसँग सवा एक करोड खोप भण्डारणमा छ। सरकारले खोप अभियानलाई तीव्र गतिमा धेरै व्यक्तिहरुलाई खोप लगाउनुपर्छ। अनि बाँकी रहेका खोपहरुलाई बुस्टर डोजको रुपमा प्रयोग गरिनुपर्छ,’ उनले भने।
उनका अनुसार बुस्टर डोज लगाउँदा फरक खोप लगाए बढी प्रभावकारी हुने देखिएको छ। अर्थात् पहिले कोभिशिल्ड वा भेरोसोल खोप लगाएका व्यक्तिले पुनः कोभिशिल्ड वा भेरोसेल नै लगाउनुभन्दा एस्ट्राजेनिका, फाइजर खोप लगाए बढी प्रभावकारी हुन्छ।
‘मिक्समाक्स भ्याक्सिनले कोरोनाबाट जोगाउन प्रभावकारी देखिएको छ,’ उनले भने, ‘केही प्रारम्भिक अध्ययनले छुट्टा-छुट्टै काम गर्ने खोपले कोरोनाबाट जोगाएको देखिएको छ।’
कोभिसिल्ड/जोन्सन/एस्ट्राजेनिका खोप लगाएका व्यक्तिले फाइजर/मोडर्ना लगाउन मिल्ने उनले बताए। बाहिरी मुलुकमा पनि फरक खोप नै बुस्टर डोजको रुपमा प्रयोग गरिएको उनले बताए।
उनका अनुसार कोरोनाविरुद्धको पूर्णखोप लगाएको छ महिनापछि बुस्टर डोज लगाउन मिल्छ।
युरोपेली राष्ट्रमा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा बढिरहेकाले नेपालमा बुस्टरको डोजको आवश्यकता रहेको उनले बताए। केही समय पहिले संक्रमितमा डेल्टा भेरियन्ट ९९ प्रतिशत जिम्मेवार थियो भने हाल ओमिक्रोन ७५ प्रतिशतभन्दा माथि रहेको उनले बताए।
नेपालमा पनि ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलनसक्ने जोखिम रहेको उनले बताए। कोरोना भाइरसको भेरियन्ट परिवर्तन भइरहे बुस्टर डोजको आवश्यकता पनि सोहीअनुसार पर्नसक्ने उनले बताए।
कोरोनाको पूर्णखोप लगाएको छ महिनापछि बुस्टर डोज लगाउन मिल्ने भए पनि सरकारले ल्याउने नीतिमा भर पर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। खोप लगाएपछि शरीरमा बन्ने एन्टिबडीको क्षमता वृद्धिका लागि बुस्टर डोजको आवश्यकता पर्ने उनको भनाइ छ।
बुस्टर डोजको रुपमा फरक डोज लगाउन मिल्नेमा डा पुन पनि सहमत छन्। पहिले फरक खोप लगाएका व्यक्तिले अर्को खोप लगाउँदा प्रभावकारी देखिएको उनले बताए। नेपालमा अझै पनि धेरै व्यक्ति खोपको पहुँचबाहिर रहेकाले पहिलो प्राथमिकतामा उनीहरुलाई राख्नुपर्ने उनले बताए। सबैलाई एकै पटकभन्दा पनि जोखिमको आधारमा प्राथमिकता निर्धारण गरेर बुस्टर डोज दिनुपर्नेमा डा पुनको जोड छ।
उनले भने, ‘विकसित देशहरुमा खोप पर्याप्त भएकाले उनीहरुले दोस्रो तेस्रो पनि बुस्टर डोज लगाएका छन्। तर नेपालमा अझै पनि धेरै व्यक्तिले खोप लगाएका छैनन्। त्यसैले खोप नपाएका व्यक्तिलाई खोप दिनुपर्छ। जोखिमको आधारमा बुस्टर डोज दिनुपर्छ।’
कोरोनाको पूर्णखोप लगाए पनि ६० वर्ष उमेरभन्दा माथिका व्यक्तिमा समस्या आएको देखिएको उनको अनुभव छ। त्यसैले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई बुस्टर डोजको पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।
नेपालमा अझै पनि आधा बढी जनसंख्याले कोरोना विरुद्धको खोप लगाउन बाँकी छ। खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा दुई करोड २५ लाख १० हजार ८१८ मात्रा खोप लगाइएको छ। जसमध्ये एक करोड २६ लाख ७२ हजार ४४२ जना (४१.७ प्रतिशत) ले पहिलो मात्रा र ९८ लाख ३८ हजार ३७६ जना (३२.४ प्रतिशत) ले खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
कोभिड-१९ विरुद्धको खोप लगाएको छ महिनापछि शरीरमा क्रमशः एन्टिबडी कम हुँदै जान्छ। जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै जाने सरुवा रोग विशेषज्ञ डा पुनले बताए। त्यही जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ आवश्यक पर्ने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।