काठमाडौं– बेलायतमा एकै दिन हालसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका बताइएको छ।
यसअघि यहाँ शुक्रबार एकै दिन १ लाख २० हजार सङक्रमित भेटिएका थिए। यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो।
त्यसपछि शनिबार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा संक्रमण भएको हो। यो नै यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित पाइएको समाचारहरुमा उल्लेख छ।
बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ। त्यसैगरी यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ। पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ।
यहाँ हालसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी संक्रमित पुगेका छन्। त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।