खलंगा- जुम्लाका स्थानीय तहका करिब २० हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ। जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका भित्रका २० हजार बालकालिकालाई मोडर्ना खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए।
उनले भने, 'चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा ७ पुसदेखि १० सम्म मोडर्ना खोप लगाउन थालिएको छ।' १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्यांक संकलन गरी कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ। हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा ११ पुसदेखि खोप लगाउने तयारी भइरहेको कार्यालय प्रमुख सापकोटाले बताए।
नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ। शुक्रबारसम्म एक हजार ९३५ जना बालबालिकालाई मोडर्ना खोप लगाइसकिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख क्षेत्रबहादुर महतले बताए।
सुर्खेतबाहेक कर्णाली प्रदेशका ९ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ। कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको छ। प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीका अनुसार मोडर्ना खोपको पहिलो मात्रा शनिबारदेखि १४ पुससम्म र दोस्रो मात्रा आगामी दुई देखि १० माघसम्म लगाइने बताए।
साविकका गाविसमा ९ वटा केन्द्र र हालका स्थानीय तहका प्रतिवडाका दुई स्थानमा खोप केन्द्र सञ्चालनमा ल्याइएको निर्देशनालयका सूचना अधिकारी केसीले बताए। स्वास्थ्य कर्मचारी, शिक्षक, शिक्षिका र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप केन्द्रमा परिचालन गरिएको छ।
विद्यालय नजाने बालबालिकालाई पनि नजिकैको केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ। खोप लगाउन पाँचभन्दा बढी बालबालिका उपस्थित हुनुपर्ने र छ घण्टाभित्र लगाइसक्नुपर्ने छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको निर्देशनालयका सूचना अधिकारी केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।