डोटी– जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ। पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।
‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौं, उनले भनिन्, ‘विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’ प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त पालिकामा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ।
हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले जानकारी दिए।
विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।