सिमकोट– उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेका हुन्।
विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए। जिल्लाभर सो उमेर समूहका पाँच हजार ४९७ बालबालिकालाई ६१ खोपकेन्द्र मार्फत खोप लगाइएको थियो।
ती मध्ये सिमकोटका एक हजार ४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका एक हजार १७७, ताँजकोटका ५६७, चङ्खेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ रहेका छन्।
उत्तरी नाम्खा गाउँपालिका–६ लिमी र यारीका बालबालिका भने खोप लगाउनबाट बञ्चित भएका छन्। यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्याउन कठिनाइ भएको जनाइएको छ। यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुङ्गो लागिनसकेको रोकायाले बताए।
यसैगरी दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका–१ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक÷दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ । जिल्लामा छ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो । पाँच हजार बढी बालबालिकालाई खोप लगाएर अब २२९ डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका नौ हजार ९४० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।