इटहरी- इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ३७ करोडको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०७४/७५ को भन्दा आगामी आव ०७५/७६ का लागि ७० प्रतिशतले बजेट वृद्धि भएको छ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमद्वारा प्रस्तुत बजेटमा चालुतर्फ ३४ करोड ५९ लाख र पुँजीगततर्फ ६३ करोड ८० लाख तथा वित्तीय व्यवस्थातर्फ ३५ लाख रुपैयाँ खर्च हुने अनुमान बजेटमा गरिएको छ।
सोका लागि सङ्घीय सरकारबाट २८ करोड ३१ लाख रुपैयाँ अनुदान, सशर्त अनुदानबाट ३० करोड ३६ लाख, राजस्वबाट १४ करोड ८३ लाख, प्रदेश सरकारबाट ६० लाख, सशर्त अनुदानबाट १ करोड, आन्तरिक आयबाट ३२ करोड ३१ लाख प्राप्त हुने अनुमान गरिएको छ। अपुग ६ करोड ५ लाख रुपैयाँ नगर विकास कोषबाट ऋण लिने योजना छ।
आइतबार प्रस्तुत गरिएको वार्षिक बजेट नीति तथा कार्यक्रमले इटहरीलाई प्रदेश राजधानी बनाउने विश्वाससमेत व्यक्त गरिएको छ। इटहरी लाई व्यापारिक केन्द्रको रूपमा विकसित गराउन सुक्खा बन्दगाह निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ। व्यापारिक हबलाई व्यवस्थित गर्न रात्रिकालीन बजारको व्यवस्थापन गरिने भएको छ। जसका लागि ४० लाख बजेट विनियोजन गरिएको छ।
इटहरीमा आधुनिक सार्वजनिक सभाहल निर्माण बजेटको प्राथमिकतामा परेको छ। त्यस्तै, व्यवस्थित ढल निकास, इटहरी चोकमा सार्वजनिक शौचालय तथा पार्किङको व्यवस्था लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ। सडक बालबालिकाको व्यवस्थापन गर्नेदेखि सम्पूर्ण बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउने बजेटमा उल्लेख छ।
फोहोर मैला व्यवस्थापन, आत्मनिर्भर जनशक्ति उत्पादन गरी स्वरोजगारको वातावरण निर्माण गर्ने, आधुनिक कृषि बजार स्थापना गरिने र बजारमा कौसी खेती लाई प्रोत्साहन गरिने पनि बजेटमा उल्लेख गरिएको छ। उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत महिला स्वावलम्बनमा जोड दिइएको छ।
बजेटले इटहरीमा रात्रिकालीन नमुना बजार स्थापना गर्ने उल्लेख गरेको छ। जसको लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
बजेटले तालतलैया, भान्सेपोखरी क्षेत्रलाई पर्यटकीय उद्देश्यको लागि विकास गर्ने योजना बनाएको छ। यसैगरी इटहरी चोक आसपासमा जनता पार्क बनाउने भएको छ।
अपराध नियन्त्रणका लागि बजारभर सिसी क्यामेरा जडान गरिने साथै सामुदायिक विद्यालयलाई सिसी क्यामेराबाटै अनुगमन गर्ने योजनासमेत बजेटमा समेटिएको छ।
यसैगरी नगरमा बहुजातीय सङ्ग्रहालय निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। इटहरी वार्ड नं ४ र ६ मा टेंग्रा खोलाको दुवैतर्फ सडक करिडोर बनाउने बजेटमा उल्लेख गरिएको छ जसका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ। आगामी आर्थिक वर्षमा इटहरीमा ७ वटा पक्की पुल बनाउने योजना बनाइएको छ।
हरित नगरी इटहरी निर्माणका लागि एक घर एक बिरुवा अभियान इटहरीको पहिचान भन्ने अभियान बजेटमा उल्लेख गरिएको छ। स्मार्ट सिटी निमार्णका लागि हरेक वडा कार्यालयदेखि नगरपालिकाका हरेक सेवा इन्टरनेटको माध्यमबाट हुने व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ।
हिंसापीडित महिलाहरूका लागि सुरक्षित आवासलाई निरन्तरता दिने र इटहरीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने विपन्नलाई थप एक हजार रुपैयाँ दिने योजना समेटिएको छ।
बजेटले चालु आर्थिक वर्षमा आन्तरिक आय अनुमान गरेभन्दा कम हुने भएको छ। आन्तरिक आय १५ करोड २५ लाख हुने अनुमान गरिएकोमा जेठसम्म १० करोड ३७ लाख रुपैयाँ आय भएको छ। असारसम्मको संशोधित अनुमानमा १ करोड ८७ लाख आय हुने अनुमान बजेटमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।