काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार (भोलि)देखि कोभिड-१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ।
कोभिड-१९ विरुद्धको पूर्णमात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको बताए।
मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ। बालबालिकाबाहेकका जहाँ-जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्नेछ। थप एउटा अतिरिक्त मात्रा खोप 'बुस्टर डोज' नभइ कमजोर रोग प्रतीरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने अधिकारीले बताए।
पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त मात्रा दिइनेछ। कोभिड-१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एउटा मात्रा खोप दिन लागेको हो।
मन्त्रालयले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।