काठमाडौं– भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड–१९ खोप, कोभ्याक्सिनको ५ लाख डोज प्रदान गरेको छ। भारत बायोटेकले ट्विटरमार्फत उक्त जानकारी दिएको हो।
‘आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५ लाख डोजसहितको मानवीय सहायताको अर्को शृंखला प्रदान गरेको छ। त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ,’ ट्विटरमा उल्लेख छ। आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ ।
कोभ्याक्सिनको ५ लाख डोज रहेको मानवीय सहायताको अन्तिम ब्याच जनवरी १ मा अफगानिस्तानलाई आपूर्ति गरिएको थियो।
भारतले अफगान जनतालाई खाद्यान्न, कोभिड–१९ खोपको १० लाख डोज र जीवन बचाउने आवश्यक औषधि समावेश गरी मानवीय सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो।
गत महिनाको शुरुमा भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अफगानिस्तानलाई १.६ टन चिकित्सा सहायता पुर्याएको थियो।
तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो र यसपछि देश गहिरो आर्थिक, मानवीय र सुरक्षा संकटमा परेको छ।
वैदेशिक सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध आदिको कारणले उच्च गरिबीबाट पीडित हाल आर्थिक संकटमा फसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।