काठमाडौं– आज (मंगलबार) देखि सञ्चालन गर्ने भनिएको कोरोनाविरुद्धको खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै लक्षित वर्गका लागि दिने भनिएको कोभिड खोपको थप मात्रा कार्यक्रम स्थगित भएको जनाएको छ।
‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रूत गतिमा सञ्चालन गर्न आवश्यक छ,' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, 'त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ।’
मन्त्रालयले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी संक्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।