महेन्द्रनगर– कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेसँगै यहाँ पनि सो संख्यामा वृद्धि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ। मंगलबारमात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा संक्रमण देखिएको छ।
एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ। कोरोना परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन् भने बाँकी सबै होमआइसोलेशनमा रहेका छन्।
यसैगरी सीमानाका त्रिनगर हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ। हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना पोजेटिभ पाइएको छ। संक्रमणकै कारण जिल्लामा हालसम्म २०५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।