काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता–कार्यकर्तासँगको भेटघाट बन्द गरेका छन्। आठौं महाधिवेशनबाट पुन: अध्यक्ष निर्वाचित भएका प्रचण्डले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेता–कार्यकर्तासँग भौतिक रुपमा हुने भेटघाट तथा बधाई ग्रहण गर्ने कार्यक्रम स्थगित गरेका हुन्।
माओवादी केन्द्रीय कार्यालयका केही नेता र कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रचण्डको सचिवालयले भौतिक रुपमा हुने भेटघाट र बधाई ज्ञापनको कार्यक्रम स्थगित गरिएको जनाएको हो। माओवादी केन्द्रीय कार्यालयका लेखा प्रमुखसहित ६ जनालाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ।
प्रचण्डको सचिवालयले बिहीबार एक वक्तव्य जारी गर्दै भौतिक रुपमै उपस्थित भएर हुने बधाई ज्ञापनका कार्यक्रमहरु स्थगित भएको जनाएको छ।
‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत ३ दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं,’ प्रचण्डको सचिवालयले भनेको छ।
सचिवालयले यसका कारण पर्न गएको अप्ठ्यारोका लागि क्षमा पनि मागेको छ।
पार्टीको नियमित प्रक्रियामार्फत् हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गरिने जनाइएको छ। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत् सहजीकरण गरिने प्रचण्डको सचिवालयले जनाएको छ।
‘केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भिडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।