फाइल तस्बिर काठमाडौं– नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १२ हजार ९९ जनाको नमूना परीक्षण गर्दा बिहीबार ५४० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २०९ जनाको आरटी पीसीआर र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणबाट ४७९ र एन्टिजेन परीक्षणबाट ६२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ।
गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २७१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। हाल देशभर कोरोना भाइरसका ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।