काठमाडौं- निरन्तर उकालो लागिरहेको कोरोना महामारी र ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै २०२२ को ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ। अमेरिकाको लस एजल्समा हुने घोषणा भएको ६४औं ग्रामी अवार्ड कोरोनाको जोखिमलाई मध्यनजर गर्दै तत्काललाई स्थगित गरिएको हो।
पूर्वनिर्धारित मिति ३१ जनवरी २०२२ मा हुने भनिएको ग्रामी अवार्ड अनिश्चित कालका लागि स्थगित भएको छ। अवार्डको आयोजक ‘द रेकर्डिङ एकेडेमी’ले ओमिक्रोनको खतरालाई मध्यनजर गर्दै अवार्ड कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।
ट्विटरमार्फत् एकेडेमीले भनेको छ, ‘राज्यका पदाधिकारी, जनस्वास्थ्यविज्ञ लगायतसँगको छलफलमार्फत् हामीले ६४औं ग्रामी अवार्ड स्थगित गर्ने निर्णय गरेका छौं।’ एकेडेमीले तत्काल कार्यक्रम गरेमा संक्रमण र ओमिक्रोनको जोखिम बढ्ने भन्दै अवार्डलाई स्थगित गरेको जनाएको छ।
‘ग्रामी अवार्ड’ संगीतको क्षेत्रमा निकै प्रतिष्ठित अवार्ड हो। सन् १९५९ मा पहिलोपटक दिइएको यो अवार्ड संगीत क्षेत्रका विभिन्न विधामा उल्लेखनीय योगदान दिनेहरुलाई प्रदान गरिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।