बैतडी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ। शुक्रबार एकैदिन यस प्रदेशमा १५८ मा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि बिहीबार एकैदिन १२० र बुधबार ५५ मा संक्रमण देखिएको थियो।
गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३८५ को नमूना परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि छ। पीसीआरमार्फत् ५७ र एन्टिजेनमार्फत् १०१ जनामा पुष्टि भएको हो। पीसीआरमार्फत् महाकाली अस्पतालमा ५१ र सेती प्रादेशिक अस्पतालमा छ र एन्टिजेनमार्फत् कैलालीका ५८, कञ्चनपुरका ४०, बझाङका दुई र डडेलधुराका एक जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर छ जना संक्रमणमुक्त भएका छन्। सो अवधिमा यस प्रदेशमा संक्रमणका कारण कुनै मृत्यु भएको छैन। यसअघि बिहीबार यस प्रदेशमा १२० मा संक्रमण पुष्टि हुँदा छ संक्रमणमुक्त भएका थिए। सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१४ को मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।