दाङ- तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन्। यहाँका शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमणदेखिएपछि विद्यालय बन्द हुने भएका हुन्।
तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए।
शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको थियो। तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन्।
कोरोनाको संक्रमणबढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कूल मावि तुलसीपुर बन्द भइसकेका छन्। तुलसीपुरमा बिहिबारसम्म ८४ जनामा कोरोना पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।