काठमाडौं– पछिल्लो तीन वर्ष यता सुदिन पोखरेल अर्थात् ‘डिए ६९’ ले हरेक साल एउटा म्युजिक भिडियो सार्वजनिक गरिरहेका छन्। सन् २०१९ मा उनले ‘जोश’ नामक गीतको भिडियो निकालेका थिए, जसले उनलाई साढे सात वर्षको विश्रामपछि संगीतमा फर्काएको थियो। ‘जोश’मा सुदिनले संगीत क्षेत्र कसरी गलत व्यक्तिहरूको हातमा पुगेको छ भन्ने विषयलाई गीत बनाएका छन्।
उनले सन् २०२० मा ‘समृद्धि’ र ‘मृत्यु’ गीतको भिडियो निकाले। सन् २०२१ को अन्त्यतिर अर्को गीत ‘ज्वाला’को भिडियो युट्युबमा सार्वजनिक गरेका छन्।
सुदिन ‘म यस्तो छु’, ‘पहिलो माया’, ‘सि इज द बम’जस्ता चर्चित गीतका गायक हुन्। उनी अहिले आफ्नो सांगीतिक करिअरको दोस्रो इनिङ्समा छन्। पछिल्लो तीन वर्षदेखि उनले देखाएको सक्रियताले उनको मिहिनेतलाई पुष्टि गर्छ।
संगीतमा ‘कमब्याक’ गर्नुअघि सुदिनले एउटा प्रयोग गरेका थिए। एक दिन उनले आफ्नो गीत ‘म प्रेममा’ (जुन ‘सि इज द बम’बाट चर्चित छ)’ को एउटा हरफ गाएर सामाजिक सञ्जालमा अपलोड गरेका थिए। त्यसमा पाएको प्रतिक्रियाहरूले उनलाई आश्चर्यमा पार्यो।
अहिलेको सांगीतिक क्षेत्रको उनको अनुभव यसअघिभन्दा फरक छ। त्यसबेला भन्दा अहिले शब्द, संगीत र प्रविधिले गीतलाई फरक बनाउन थालेको उनी बताउँछन्। ‘पहिलेजस्तै मेरो गीत हिट हुन्छ कि हुँदैन भन्ने दबाब अहिले छैन,’ सुदिन भन्छन्, ‘त्यति बेला अल्बम बेच्नका लागि दबाब र प्रतिस्पर्धा हुन्थ्यो। तर, अहिले बेच्ने होइन भ्युज ल्याउने प्रतिस्पर्धा हुन्छ।’
उनले पछिल्ला म्युजिक भिडियोमा राम्रो संख्यामा ‘भ्युज’ पाएका छन्। सर्वाधिक हेरिएको ‘मृत्यु’मा हालसम्म एक लाख ४२ हजारभन्दा धेरै भ्युज छन्। सुदिनका लागि यी भिडियोमा आएका कमेन्टले झन् धेरै महत्व राख्छन्। उनी सबै प्रतिक्रियाहरू पढिरहेको बताउँछन्।
उनको संगीतलाई लिएर मात्रै प्रतिक्रियाहरू आएका छैनन्। मान्छले अझै पनि उनको त्यो पुरानो आवाजलाई सम्झिरहेको बुझेका छन्। सँगै स्रोता/दर्शकहरू उनको पुनरागमनलाई लिएर उत्साहित र खुसी भएको पनि पाएका छन्।
नयाँ पुस्ता भने उनको बारेमा अज्ञातजस्तै छ। ‘केहीले त ‘यो मान्छे को हो?’ भनेर पनि कमेन्टमा लेखेका छन्,’ सुदिन भन्छन्। उनको दोस्रो इनिङ्स्का लागि यो एउटा चुनौती पनि हो। नयाँ पुस्तामाझमा आफ्नो संगीत पुर्याउनुलाई उनले चुनौतीको रूपमा लिएका छन्।
नेपालमा हिपहप संगीत फस्टाइरहेको छ। सुदिनलाई लाग्छ– अहिलेका नयाँ गायकहरू उनीभन्दा धेरै कुरामा उत्कृष्ट छन्। उनी नयाँ गायकहरू बालेन, युनिक पोयट, भिटेन, लाहुरेलगायतलाई सुन्ने गर्छन्।
हिपहप नेपालमा प्रवेश गर्दै गर्दा यो क्षेत्रमा आएका सुदिन र्याप संगीतमा परिवर्तन भइरहेको परिदृश्यसँग सामना गर्ने कदम चालिरहेका छन्। अहिले कलाकारलाई आफ्नो काम देखाउन र विज्ञापन गर्न थुप्रै माध्यम छन्। उनी आफ्ना काममा यी माध्यमहरूको फाइदाजनक प्रयोग गर्न पनि सिकिरहेका छन्। सँगै उनी प्रविधिले संगीत निर्माणमा मारेको फड्कोलाई लिएर अच्चमित छन्। उति बेला एउटा गीतमा आवश्यक संगीत (बिट) निर्माण गर्न एक दिनभन्दा बढि समय लाग्ने उनी सम्झिन्छन्।
‘अहिले यदि मैले मेरो आवाज रेकर्ड गरेर प्रोड्युसरहरुलाई पठाएँ भने उनीहरुले मलाई थुप्रै बिटहरु पठाउँछन्,’ सुदिन भन्छन्, ‘धेरैमध्ये एउटा छान्न निकै मुस्किल पर्छ।’
यो पुनरागमनमा सुदिनले गीतको लेखनमा आएको परिवर्तनलाई पनि देखेका छन्। आफ्ना गीतका शब्द अहिले परिष्कृत र परिपक्व भएको उनले अनुभव गरेका छन्। विगतमा जस्तो अहिले उनलाई युवतीलाई फकाउन श्रृङ्गारिक शब्द लेख्न अहसज लाग्छ। जीवन र आफ्नो संघर्षमा केन्द्रित रहेर गीत कोर्छन्। उनले नयाँ गीत ‘जोश’मा भनेका छन्–
जिन्दगीको परिभाषा बुझ्दै थिएँ
परिवारको आकांक्षालाई पूरा गर्दै थिएँ
जिउँदै थिएँ जिन्दगी मोक्षको खोजीमा
मागका सूचीहरू भरिएको गोजीमा
योसँगै सुदिन आफूसँग क्षमता हुँदाहुँदै पनि छाँयामा परेका कलाकारलाई लिएर चिन्तित छन्। भन्छन्, ‘हाम्रो संगीत क्षेत्रमा राम्रो क्षमता र काम भएका कलाकारहरु छन्, तर उनीहरू छाँयामा बाँचिरहेका छन्। उनीहरुको काम राम्रो छ। तर, सुन्न आवश्यक नपर्ने मौलिकता विनाका कुराहरुले हावी भएर गीत छाँयामा पारिरहेका छन्।’
सुदिनको कमब्याकपछिको नयाँ शैलीले संगीत क्षेत्रका कम्पनीहरुको विरुद्धमा पनि संघर्ष गरिरहेको छ। ती कम्पनीले सुदिनलाई आफ्नै पुराना गीतहरु व्यक्तिगत युट्युब च्यानलमा राख्न दिएका छैनन्। त्यतिबेला भएको सम्झौताअनुसार अब ती गीत आफूले राख्न पाउने उनको दाबी छ। यो विषय समाधानका लागि लागिरहेको उनले बताए।
सुदिनको चाहना र्याप संगीत नेपालमा मुलधारमा आएको हेर्ने हो। उनी र्याप संगीतलाई व्यावसायिक पनि बनाउनु पर्ने बताउँछन्। र्याप गीत विवाहदेखि अन्य कार्यक्रममा सबैतिर बजाउनु पर्ने उनको भनाइ छ। गायकले आफ्नो संगीतबाट पैसा कमाउनु पर्ने र त्यसैबाट बाँच्ने अवस्था सिर्जना हुनुपर्ने उनी बताउँछन्।
आफूले सम्झनलायक कमब्याक गरे पनि उनीसँगैका थुप्रै कलाकार अहिले गुमनाम छन्। सुदिन उनीहरुसँग पनि काम गर्ने चाहना राख्छन्। उनीहरूको पनि कमब्याक हेर्ने रहेर छ। यसका लागि पुराना साथीहरूलाई सम्पर्क गरेर प्रेरित गरिरहन्छन्।
पहिलो इनिङ्समा सुदिनको गायनसँगै अर्को परिचय पनि थियो। साप्ताहिक कार्यक्रम ‘स्कोरबोर्ड’का प्रस्तोतासँगै खलकुदका समाचार प्रस्तुत गर्ने सञ्चारकर्मी। तर, उनका लागि खेलकुदको कार्यक्रमले त्यति प्रगति गर्न सकेन, जति उनले आशा गरेका थिए।
त्यस बेला देशमा राजनीतिक उतारचढावहरू भइरहेका थिए। आम मानिसको रुचि खेल र खेलाडीमा भन्दा पनि बढी राजनीतिमा थियो। सुदिनलाई अहिले खेलकुद केन्द्रित भएको कुनै पनि निश्चित कार्यक्रम नहुनुमा दुःख लाग्छ। उनी ठान्छन्, सञ्चारमाध्यमले अहिले पनि खेलकुदलाई मुख्य क्षेत्रको रुपमा लिँदैन।
संगीतका अन्य थुप्रै योजनाबाहेक सुदिन आफूले चलाउने कार्यक्रम ‘स्कोरबोर्ड’को ‘रिलोडेड’ संस्करण ल्याएर सञ्चारमा पनि कमब्याक गर्ने योजनामा छन्। उक्त कार्यक्रम फेब्रुअरीमा ल्याउन मिहिनेत गरिरहेका छन्।
सुदिन कुराकानीको अन्त्य दुई ठूला र राम्रा समाचार बताएर गरे। पहिलो, उनी छिट्टै ‘खेलाडी’ बोलको गीत निकाल्दै छन्, जुन उनको ‘ड्रिम प्रोजेक्ट’ हो। दोस्रो, उनको सांगीतिक समूह ‘द युनिटी’ छिट्टै पुनर्जिवित हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।