काठमाडौं– कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेसँगै सार्वजनिक स्थलहरुमा धेरै जना जम्मा हुने राजनीतिक, प्रशासनिक तथा सार्वजनिक कार्यक्रम गर्न नदिन सिफारिस भएको छ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न सिफारिस गरेको हो।
नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन पनि सीसीएमसीले सिफारिस गरेको छ।
सीसीएमसीले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखि पठाउन सिफारिस गरेको छ।
सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि ) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै अनुमति दिने व्यवस्था गर्न पनि सीसीएमसीले सिफारिस गरेको छ। माघ ३ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।
पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) पुष्टि हुनेको संख्या बढेको छ। दैनिक संक्रमण पुष्टि हुने दर समेत दोब्बरले बढ्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।