काठमाडौं– कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्था संक्रमण तथा जोखिम न्यूनीकरणका लागि चाल्ने कदमका विषयमा छलफल गर्न भोलि (सोमबार) काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोभिड १९ को बढ्दो जोखिम र संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि के–कस्ता कदम चाल्ने भन्नेबारे भोलि तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का सीडीओहरुको बैठक बस्न लागेको बताइन्।
'संक्रमणको जोखिम समेत बढेको छ। सीसीएमसी (कोभिड १९ संटक व्यवस्थापन तथा समन्वय केन्द्र)ले पनि केही निर्णय गरेर सिफारिस गरेको छ। यी सबैबारे छलफल गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको हो,' शर्माले भनिन्।
उपत्यकाका केही ठाउँमा संक्रमण दर बढ्दै गएकाले त्यस्ता ठाउँमा के–कस्तो रणनीति अपनाउने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको छ। देशभर दैनिक थपिने संक्रमितमध्ये आधा संख्या उपत्यकाका ३ जिल्लाको मात्रै हुने गरेको छ।
आइतबार मात्रै काठमाडौं उपत्यकामा ६१५ जना संक्रमित थपिएका छन्। हाल उपत्यकाका ३ जिल्लामा गरी ३ हजार ४८१ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।