काठमाडौं– चितवनमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। कात्तिकदेखि घट्दै गएको कोरोना संक्रमण पुसको अन्तिम सातादेखि बढ्न थालेको हो।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमण देखिएको हो।
पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो। यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिइन्।
उनका अनुसार संक्रमण देखिनेमा भरतपुर महानगरपालिकाका– २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३/३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो। जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ११९ जना रहेको छ। जसमध्ये सातजना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन्।
यसअघिका दिनमा संक्रमितको संख्या कम थियो। पुस २४ गते एक जनामा सङ्क्रमण देखिएको थियो। २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा संक्रमण देखिएको थियो। एकाएक यो संख्या बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।