फाइल तस्बिर काठमाडौं– कोभिडका जटिल बिरामीको उपचारका लागि नेपालको प्रवेशद्वार पर्साको वीरगञ्ज भन्सार कार्यालयभित्र निर्माण गरिएको होल्डिङ सेन्टरमा तत्कालका लागि ४०० शय्या व्यवस्थापन गरिएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै पूर्वतयारीका होल्डिङ सेन्टरमा ४०० शय्याको व्यवस्थापन गरिएको हो।
नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सोको पूर्वतयारीका लागि सेन्टरको व्यवस्थापनसहित इनर्वानाका र वीरगञ्ज नाकामा हेल्थडेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
जटिल भएका संक्रमित आएमा होल्डिङ सेन्टरमा राख्ने र उनीहरुलाई खानासहितको आवश्यक जोहो गर्ने कार्यमा महानगरपालिका, जिल्ला कोभिड समन्वय समितिसहित सरोकारवाला निकायसँग समन्वय अघि बढाइएको प्रजिअ ढकालले जानकारी दिए।
नेपाल–भारतको आवतजावतस्थलका रूपमा रहेको पर्साका विभिन्न नाका हुँदै नेपाल भित्रने नागरिकलाई लक्ष्य गरी कोभिड परीक्षणबाट संक्रमित देखिएमध्ये जटिल बिरामीलाई उक्त होल्डिङ सेन्टरमा उपचारका लागि राखिनेछ। भन्सार कार्यालयभित्र एक हजार शय्या क्षमताको होल्डिङ सेन्टर निर्माण जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।