बेनी– म्याग्दीमा ५८ हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन्। गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो। हालसम्म ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए। जोनसन एन्ड जोनसन (एकपटक मात्रै लगाए हुने) समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए।
जिल्लामा १८ वर्षमाथिको लक्षित जनसंख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको उनले बताए। पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन्।
जिल्लामा १८ वर्षमाथिका लक्षित जनसंख्या ७२ हजार ९७३ रहेकामा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुवै मात्रा नलगाउनेसमेत रहेकाले उनीहरुलाई तत्काल स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आएर खोप लगाउन अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप अभियान सञ्चालन गरिएको छ।
जिल्लामा हालसम्म ११ हजार २७८ जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।