फाइल तस्बिर दमौली- तनहुँको व्यास नगरपालिकाले कोरोना परीक्षणका लागि निःशुल्क पीसीआर गर्ने भएको छ। व्यास नगरपालिका-१० दुम्सीस्थित कोभिड अस्पतालमा यस अगाडि पीसीआरका लागि शुल्क लिने गरिएकामा माघ १ गतेदेखि निःशुल्क गर्ने निर्णय भएको हो।
कोभिड-१९ को बढ्दो प्रकोपलाई मध्यनजर गरी महामारीको अवधिर कुनै पनि शुल्क नलाग्ने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। नगरपालिकाले यस अगाडि पीसीआर परीक्षणका लागि एक हजार रुपैयाँ शुल्क लिने गरेको थियो। 'कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नगरवासीलाई महामारी अवधिभर निःशुल्क सेवा दिने निर्णय भएको छ,' उनले भने।
पच्चीय शय्याको अस्पताल सञ्चालन गर्ने उद्देश्यका साथ हाल पाँच शय्या व्यवस्थापन गरिएको छ। सोही अस्पतालमा नगरपालिकाले पीसीआर प्रयोगशाला सञ्चालन गरेको थियो। कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ/नौ दिन लागेपछि नगरपालिकाले प्रयोगशाला सञ्चालन गरेको थियो। त्यसैलाई मध्यनजर गर्दै संघीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न संघसंस्थाको सहयोगमा प्रयोगशाला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए।
पीसीआर प्रयोगशाला सञ्चालनका लागि संघीय सरकारले ५० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले २५ लाख, व्यासका जनप्रतिनिधिले १३ लाख, कर्मचारीले आठ लाख, हेफर इन्टरनेसनलले चार लाख, तनहुँ समाज हङकङ र तनहुँ समाज अस्ट्रेलियाले दुई/दुई लाख रुपैयाँ सहयोग गरिसकेका छन्। पीसीआर प्रयोगशाला स्थापनार्थ एक करोड सात लाख ७६ हजार रुपैयाँ प्राप्त भएको छ भने पीसीआर प्रयोगशाला सञ्चालनका लागि एक करोड ३२ लाख १५ हजार रुपैयाँ खर्च भएको छ।
प्रयोगशाला सञ्चालनका लागि २५ लाख ८७ हजार ७०० रुपैयाँमा पीसीआर मेसिन, १० लाख २० हजार ३९० रुपैयाँमा जेनेरेटर, ५७ लाख सात हजार १७८ रुपैयाँमा अन्य उपकरण, पाँच लाखमा ल्यापटप/कम्प्युटर र पाँच लाख रुपैयाँमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा २९ लाख रुपैयाँ खर्च भएको छ। प्रयोगशालामा दुई जना बीएमएलटी र तीन जना सीएमएलटीका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ। पीसीआर प्रयोगशालामा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ। त्यसको नतिजा साढे दुई घण्टा प्राप्त हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।