काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए।
उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए।
मन्त्री खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने दाबी गरे।
‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुईवटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्यौं। जति जानेको थियो त्यति गर्यौं। विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्यौं। हामी पनि आतंकित भयौँ। गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्यौं। त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ। तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्यु भन्दा पनि भयावह ढंगले भयो' उनले भने, 'त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ। आवश्यक्ता हेरेर खास ठाउँमा त्यो विचार पुर्याएर हामी लकडाउन गर्नेछौँ। सजिलैसँग लकडाउनमा जाँदैनौँ। आवश्यक्ताअनुसार ठाउँ विशेष गर्न सक्छौँ। त्यसैले तत्काल लकडाउनको विषयमा आतंकित हुनु पर्दैन'
मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे।
उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे। मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए।
उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोनाबिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।