काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विज्ञ चिकित्सकहरूले कोरोना संक्रमण नियन्त्रणका लागि भिडभाड नगर्न र भौतिक दूरी कायम गर्न बारम्बार सुझाव दिने गरेका छन्। तर, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा केही दिनयता जनस्वास्थ्यका यी मापदण्ड लागू भएको देखिँदैन।
अस्पतालमा बढ्दै गएको भिडमा नै कोरोना संक्रमणको जोखिम बढेको छ। भिड नियन्त्रणका लागि अस्पताल र स्थानीय प्रशासनले कुनै पनि उपाय लगाएका छैनन्।
सरकारले यात्रा गर्न र सार्वजनिक सेवा लिन कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य बनाएको छ। त्यही कारण खोप केन्द्रहरुमा सर्वसाधारणको भिड बढेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु पनि एउटा खोप केन्द्र हो।
खोप कार्ड नहुँदा सार्वजनिक सेवाबाटै बञ्चित हुने भएपछि खोप लगाउन पुग्नेहरुको भिड टेकुमा दैनिक बढ्दो छ। गएको सोमबारसम्म अस्पतालको गेटभित्रसम्म मात्र लाइन हुने गरेको थियो। तर, शुक्रबारसम्ममा खोप लगाउनेको लाइन टेकुको सडकसम्मै आइपुगेको छ।
भिडमा मास्क नलगाउने पनि छन्। भौतिक दूरी नै कायम गरिएको छैन। टेकुमा मात्र नभएर अन्य खोप केन्द्रमा पनि भिड बढेको छ। तर, भिड व्यवस्थापनमा ध्यान दिइएको छैन। कोरोनाबाट बच्नका लागि भन्दै खोप लगाउन पुगेकाहरुबाटै संक्रमण फैलिने डर भएको चिकित्सकहरूको भनाइ छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन खोप केन्द्रबाटै कोरोना संक्रमणको जोखिम बढेको बताउँछन्। खोप केन्द्रमा बढ्दो भिड नै कोरोना संक्रमणको हटस्पट हुने सम्भावना रहेको उनले बताए।
‘दोस्रो लहरमा खोप केन्द्रबाटै कोरोना सरेको उदाहरण छ। यही कारण मृत्युदर पनि बढेको अनुभव हामीसँग छ। हुन त त्यो बेला डेल्टा भेरियन्ट निकै कडा थियो,’ डा. पुनले भने, ‘खोप केन्द्रमा जब भिड बढ्छ, त्यो कोरोना संक्रमणको हटस्पट हुन सक्छ।’
सरकारले खोप अनिवार्य गर्नु राम्रो भए पनि खोप केन्द्र व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ। खोप केन्द्र व्यवस्थापन र विस्तारमा सरकारले पूर्वतयारी गर्नुपर्ने उनले बताए।
ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिने भएकाले खोप केन्द्र यसका लागि हटस्पट बन्ने हो की भन्ने चिन्ता बढेको उनले बताए। ‘खोपको दायरामा ल्याउनका लागि सरकारको यो कदम राम्रो हो। तर, यसको व्यवस्थापनमा सरकार चुकेको देखिन्छ। जुन ठाउँमा कोरोनाबाट बच्न भन्दै जाने गरिएको छ, त्यहीँबाट कोरोना संक्रमण भयो भने के गर्ने?’ उनले भने।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।