फाइल तस्बिर काठमाडौं– नेपालमा कोरोना संक्रमणको दर फेर उच्च विन्दुमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० हजार २५८ संक्रमित थपिएका छन्।
मंगलबार थपिएका संक्रमित समेत गरेर देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
सक्रिय संक्रमितमध्ये धेरै जना घरमै एकान्तबास (होम आइसोलेसन)मा छन्। स्वास्थ्यमा समस्या देखिएका केही संक्रमित संस्थागत आइसोलेसनमा छन् भने गम्भीर अवस्था भएकाहरु अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर गरेर २८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्। यस्तै, १५१ जना संक्रमित आईसीयूमा छन्। १ हजार २१८ जना संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार ३७ हजार ८२६ जना संक्रमितहरु भने घरमै एकान्तबास (होम आइसोलेसन)मा रहेका छन्।
भेन्टिलेटरमा रहेकामध्ये १८ जना बागमती प्रदेशका छन् भने प्रदेश १ का ८ जना र सुदूरपश्चिम प्रदेशका २ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।