काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। उनीसहित उनको परिवारका सबै सदस्य संक्रमित भएका छन्।
कोरोनाको लक्षणले ग्रसित भएपछि पीसीआर परीक्षण गर्दा आज, बुधबार रिपोर्ट पोजिटिभ आएको शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका छन्।
उनले सार्वजनिक कार्यक्रममा सतर्कता नअपनाउँदा संक्रमण भएको बताएका छन्। चिकित्सकको परामर्शमा आइसोलेसनमा बसिरहेको शर्माले उल्लेख गरेका छन्।
शर्मा ८ महिनाअघि पनि परिवारसहित कोरोना संक्रमित भएका थिए।
'८ महिनापछि फेरि सपरिवार संक्रमित! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु', शर्माले लेखेका छन्, 'लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर,आज सबैको रिपोर्ट- पोजिटिभ। चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन। एकसातामा फर्किन्छु काममा। सम्पर्क असुविधामा क्षमा चाहन्छु!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।