काठमाडौं- कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्ने उद्देश्यले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरुलाई खोपका लागि अभिप्रेरित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए। खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको उनले बताए। कोभिड-१९ विरुद्धको खोप कार्डलाई अनिवार्य गरिने उनले उल्लेख बताए।
‘खोप प्राप्त गरिसकेका व्यक्तिहरु पनि अभिलेखीकृत हुने र खोप प्राप्त गर्न बाँकी व्यक्तिहरु पनि खोप लगाउनलाई उत्प्रेरित गर्ने हिसाबले खोप कार्ड अनिवार्य गरिएको छ। र, यो खोप कार्डको माध्यमबाट व्यक्तिको जोखिमलाई मध्यनजर गर्दै खोप लगाइसकेका व्यक्तिहरु जोखिमको हिसाबले कम जोखिमपूर्ण हुने भन्ने मान्यता अनुसार खोप कार्डलाई एउटा आधारको रुपमा लिइएको छ,' उनले भने, 'अब ७ गते पछाडि खोप कार्ड लिएका व्यक्तिहरुले सार्वजनिक सेवा लिन जाँदा त्यसलाई देखाउने कुरा भयो र खोप कार्डको आधारमा सेवा प्राप्त गर्ने विषयलाई जोडिएको छ। र, त्यसलाई सम्बन्धित सेवा प्रदायक निकायहरुले नै आफ्नो सेवा दिने स्थानमै त्यसलाई उहाँहरुले हेरेर आवश्यक समन्वय गर्नुहुन्छ।'
कोभिड-१९ महामारी नियन्त्रणका लागि सार्वजनिक स्थलमा खोप कार्डको अनिवार्यताले महत्त्वपूर्ण भूमिका खेल्ने उनले दाबी गरे। नेपाल सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि उनले बताए।
‘पेलेर जाने भन्ने अर्थमा होइन कि यसलाई अभिप्रेरित गरेको रुपमा हामीले बुझ्नुपर्छ। संक्रमणको सन्दर्भमा विनाखोप कतिपय मानिसहरु रहनुभएको पनि होला, कतिपय मानिसहरु खोप लगाएर पनि उहाँहरुसँग कार्ड नभएको अवस्था होला। त्यो सबैलाई व्यवस्थित गरिन्छ। यो महामारी नियन्त्रणको राष्ट्रिय अभियानको एउटा पाटो हो,' सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, 'हामीले अहिले सबैलाई कारबाही नै गर्नुपर्छ, सबैलाई सजाय नै गर्नुपर्छ भन्ने अर्थमा पनि बुझेका हैनौं। कम्तीमा पनि सार्वजनिक सेवा प्रवाहमा यो एउटा महत्त्वपूर्ण पार्ट हो है भन्ने ढंगले हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ।’
उनले भीडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गरे। अत्यावश्यक काममा जानुपरेमा जनस्वास्थ्यको मापदण्डलाई पूर्णरुपमा पालना गरेर मात्रै गर्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।