वीरगञ्ज– पछिल्लो पटक पर्सामा देखिएको कोरोना संक्रमणको तेस्रो लहरअन्तर्गत एक जना संक्रमितको मृत्यु भएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा संक्रमित पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ।
कोरोना संक्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो। संक्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए। संक्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पतालमा रेफर गरिएको थियो। मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।