काठमाडौं– कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेको छ।
कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा संक्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ।
अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्नेसमेत सूचनामा जनाइएको छ। दिपायलस्थित स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गएको हप्तामा प्रदेशमा नमूना परीक्षण गरिएका १२ हजार ३१६ जनामध्ये झण्डै २४ प्रतिशत अर्थात् दुई हजार ९३४ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना फैलिएयता हालसम्म प्रदेशमा चार लाख ६१ हजार ३२८ व्यक्तिको नमूना परीक्षण भइसकेको छ।
नमूना परीक्षण भएको यो संख्या प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १८ प्रतिशत हो। हालसम्म ५३ हजार ११४ जना संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।