काठमाडौं– कोरोना भाइरस विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप नेपाल आउँदैछ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार आज (मंगलबार) २३ लाख ४० हजार डोज खोप नेपाल आउँदैछ।
यसअघि सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ। यो खोप सरकारले विश्व बैंकको सपोर्टमा खरिद गरेको चौरसियाको भनाइ छ।
उनका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था भने सरकारले आफैं गर्नेछ।
सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ। सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरसियाले बताए।
यसअघि पनि ३८ लाख मोडर्ना खोप आइसकेको छ। यसअघि आएको खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो। अहिले आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय नभएको आपूर्ति शाखा प्रमुख चौरसियाले बताए।
यसअघि आएको मोडर्ना खोप प्रदेश १ का ११, मधेसका पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।