काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित १२ वटा प्रयोगशालामध्ये तीन वटाले मात्र परीक्षण अनुमति पाएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार गरेको अनुगमनमा तीन वटा ल्याबले मात्र पीसीआर परीक्षणका लागि अनुमति लिएको पाइएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाको टोलीले अनुगमनका क्रममा १२ वटा मध्ये सुमेरु अस्पताल प्रालिको ल्याब, स्टार अस्पताल मनेलिक्युलर ल्याब र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले सञ्चालन गरेको ल्याबले मात्र अनुमति लिएको पाएको हो।
अनुगमनका क्रममा अन्य प्रयोगशालाले कलेक्सन सेन्टरका रुपमा मात्र काम गरेको पाइएकाले उक्त कार्य नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ। ‘कोभिड-१९ पीसीआर परीक्षणका लागि कलेक्सन सेन्टर मात्रै चलाउने प्रावधान नरहेको र अन्य प्रयोगशालाहरुले विमानस्थल परिसरमा कलेक्सन सेन्टरको रुपमा मात्रै कार्य गरिरहेको पाइएकाले आजकै मितिदेखि उक्त कार्य नगर्न नगराउन सबैमा सूचित गरिन्छ,’ डा रुना झाले अनुगमनपछि सार्वजनिक सूचना जारी गर्दै भनेकी छिन्।
डा झाले जारी गरेको सूचनामा स्थलगत निरीक्षणमा सुमेरु अस्पताल, स्टार अस्पताल र महेन्द्र नारायण निधि अस्पतालले चलाएका प्रयोगशालाले मात्रै सोही स्थानमा कोभिड परीक्षण गर्ने पाइएकाले उक्त प्रयोगशाला स्वीकृत कार्यविधि बमोजिम उक्त स्थानमा युएई जाने यात्रुहरुको कोभिड-१९ परीक्षण गर्न अनुमति प्रदान गरिएको उल्लेख छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको यो निर्णयसँगै अबदेखि विमानस्थलमा कलेक्सन सेन्टरका रुपमा रहेका टिजी मेडिसिन डिस्टिव्युटरस, क्रिस्टल डाइग्नोस्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड डाइग्नोस्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक, विध ल्याब लगायतले अब पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न पाउने छैनन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।