काठमाडौं– अहिले सामाजिक सञ्जालमा एउटा गीत निकै चर्चामा छ, जसको बोल छ– ‘कच्चा बादाम’। टिकटकसँगै अन्य सामाजिक सञ्जालमा थुप्रै भिडियोहरु यो गीतमा नृत्य तथा अभिनय गरेर बनाइएको छ।
बंगाली भाषाको यो गीतको शब्द नबुझेपनि सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरुले यसलाई मन पराएका छन्। भारतको पश्चिम बंगालका भुवन बादायकरको यो गीतले अहिले भारतमा मात्रै नभएर देशविदेशमा चर्चा कमाइरहेको छ।
गीत चर्चामा आएपछि यसमा अभिनय र नृत्य गर्ने धेरै छन्। तर, यो गीत भाइरल हुनुअघिको कथा भने धेरैलाई थाहा छैन। भाइरल भएको गीतको वास्तविकता भने निकै अनौठो छ। यो गीत कुनै नामी गायक वा संगीतकारको नभई सडकमा मुम्फली बेच्ने एउटा साधारण व्यक्तिले गाएको गीत हो।
भुवन बादायकर भारतको पश्चिम बंगालको कुरालजुरी गाउँमा बसोबास गर्छन्। उनैले यो गीतको सिर्जन गरेका थिए। आफ्नो दैनिक जीवन चलाउन सडकमा मुम्फली बेच्ने बादायकरले त्यही प्रयोजनका लागि यो गीतको सिर्जना गरेका थिए।
मुम्फली बेच्दा गाएको गीत :
साइकलमा झोला बोकेर बादायकर सडकमा मुम्फली बेच्छन्। उनले मुम्फली बेच्ने फरक तरिकाको खोजी गर्दा यो गीतको सिर्जना गरेका थिए। मुम्फली बेच्नकै लागि ‘कच्चा बादाम’ गीतको सिर्जना भएको थियो।
यो गीत नै मुम्फलीमाथि बनेको छ। बंगाली भाषामा मुम्फलीलाई कच्चा बादाम भनिन्छ। पश्चिम बंगालको सानो गाउँमा बस्ने बादायकरलाई बंगाली बाहेक अन्य कुनै भाषा आउँदैन। गाउँमा एउटा झुपडीमा बस्ने उनको परिवारमा एक श्रीमती, दुई छोरा र एक छोरी छन्।
बादायकर एक्लै पाँच जनाको जिम्मेवारी उठाउँछन्। दैनिक ३ देखि ४ किलो मुम्फली बेच्ने बादायकरको आयश्रोत यही मात्र हो। जसबाट उनको दैनिक कमाई दुई देखि अढाई सय भारतीय रुपैयाँ हुने गर्छ।
यिनै बादायकरले १० वर्षअघि कच्चा बादाम गीत बनाएका थिए। मुम्फली बेच्न सजिलो होस् भनेर उनले यो गीतको सिर्जना गरेको बताएका छन्। आफ्नो परिवार चलाउन र आर्थिक आर्जनका लागि मुख्य पेशा नै मुम्फली बेच्ने भएकाले सिर्जनात्मक रुपमा बेच्ने सोचसहित उनले यो गीतको सिर्जना गरेका थिए।
रिकम्पोज भएपछिको गीत :
१० वर्षअघि उनले सिर्जना गरेको यो गीत एकाएक टिकटकमार्फत भाइरल भयो। एक महिनाअघि गत डिसेम्बरमा गीतलाई रोन–ई नाम गरेका संगीतकार तथा र्यापरले रिकम्पोज गरेर युट्युबमा पनि राखे। बादायकरसँगै अन्यको आवाजमा रहेको यो गीतलाई अहिले ३ करोड २४ लाखभन्दा धेरैले हेरिसकेका छन्।
गीतको चर्चासँगै बादायकारको जीवनमा पनि परिर्वतन आएको छ। उनी बंगालमा चुनावी अभियानको हिस्सासमेत बनेका छन्। खुशीको कुरा चाहिँ, यो गीतको चर्चाले उनको मुम्फलीको व्यापारमा पनि टेवा पुर्याएको छ। पहिलेभन्दा अहिले आफ्नो व्यापार पनि बढेको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।