काठमाडौं– प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। ‘स्वर कोकिला’ मंगेशकरको मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा आइतबार निधन भएको हो।
मंगेशकरलाई गत जनवरी ८ मा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। लामो समयसम्म आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्य केही दिनअघि सुधार भएको बताइएको थियो। तर, आइतबार भने उनको स्वास्थ्यमा एक्कासी समस्या भएपछि भेन्टिलेरमा राखी उपचार गरिएको थियो। तर, उनको ज्यान बच्न सकेन।
संसारभर नै सम्मानित गायिका मंगेशकरले हिन्दीसँगै अन्य थुप्रै भाषामा गीत गाएकी छन्। ५० हजारभन्दा धेरै गीतमा स्वर दिएकी उनले थुप्रै नेपाली गीत पनि गाएकी छिन्।३४ भन्दा धेरै भाषामा गीत गाएकी लताको स्वर नेपाली भाषाका गीतहरुमा पनि सजिएको छ।
लताले गाएको पछिल्लो नेपाली गीत रामकृष्ण ढकालसँगको युगल गीत हो। करिब १० वर्षअघि सार्वजनिक भएको ‘बाचुञ्जेलीलाई’ बोलको गीतमा लताले स्वर दिएकी थिइन्। उक्त गीतमा लतासँगै नेपाली गायक रामकृष्ण ढकालको पनि स्वर रहेको छ। उक्त गीतको शब्द आनन्द अधिकारीले लेखेका थिए भने संगीत शिखर सन्तोषले गरेका थिए।
त्यस्तै, ‘उसको लागि–२’ नामक अल्बममा लताले गाएको ‘आकाशैमा तिरमिरे तारा’ बोलको गीत संग्रहित छ। महेन्द्र विर विक्रम शाहको शब्दमा रहेको यो गीतमा संगीत हेमन्त कुमारले गरेका थिए। उक्त अल्बम विस २०२१ मा सार्वजनिक भएकाे थियाे।
सन् १९६६ मा प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइती घर’मा पनि लताले गाएको गीत छ। महेन्द्र वीरबिक्रम शाहकै शब्दमा रहेको ‘जुन माटोमा मेरो’ बोलको गीतमा लताले स्वर दिएकी थिइन्। उक्त गीतमा संगीत जयदेवले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।