काठमाडौं– आइतबार बिहान संगीत क्षेत्रका लागि एउटा दुःखद् समाचार आयो। दिग्गज गायिका लता मंगेशकरले आइतबार बिहान ८ः १२ बजे मुम्बईको क्याण्डी अस्पतालमा अन्तिम सास फेरिन्। उनीसँगै संगीतको एउटा युगको अन्त्य भयो।
९२ वर्षीय लता गत जनवरीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्वस्थ थिइन्। आइतबार उनका स्वास्थ्यमा थप जटिलता भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो। तर, दुःखद् समाार बाहिरियो– लताको निधन भयो।
लताले आफूसँगै संगीतको एउटा युग लिएर हिँडेकी थिइन्। संगीतलाई सिमानाले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण थिइन् उनी। जीवनभर ८० वर्षभन्दा लामो समय संगीत क्षेत्रलाई दिएकी उनले भारतीयसँगै एसियाली क्षेत्रका दर्जनौं भाषामा ५० हजारभन्दा धेरै गीत गाइन्।
लतासँग नेपालको पनि साइनो छ। उनले केही नेपाली गीतहरु गाएकी छिन्, जुन निकै चर्चित छन्। पछिल्लो पटक उनले गायक रामकृष्ण ढकालसँग गाएको ‘बाचुञ्जेलीलाई’ सँगै उनले माइतीघर फिल्मका लागि मबीबी (महेन्द्र वीर विक्रम शाह)को शब्द तथा जयदेवको संगीतमा रहेको ‘जुन माटोमा मेरो’ र मबीबीकै शब्दमा रहेको ‘आकाशैका तिरमिरे तारा’ बोलको गीत गाएकी छिन्। ‘आकाशैका तिरमिरे तारा’ गीतमा हेमन्त कुमारको संगीत छ।
लताको निधनमा भारतसँगै नेपालको संगीत क्षेत्र स्तब्ध छ। उनको निधनमा थुप्रै कलाकारले दुःख व्यक्त गरेका छन्।
गायक प्रमोद खरेलले सामाजिक सञ्जालमार्फत लताको निधनमा दुःख व्यक्त गरेका छन्। उनले लताको देहवशान एउटा सांगितिक युगको महाप्रस्थान भएको उल्लेख गरेका छन्।
उनी लेख्छन्, ‘सरस्वतीकै साक्षत अर्को रुप थियो, आजकै दिन भगवानको प्यारो हुने लेखान्त रहेछ। भाषा र भूगोलले छेक्न नसकेको एउटा सांगितिक युगको महाप्रस्थानले स्तब्ध बनायो।’
त्यस्तै, अर्का गायक शिव परिवारले साक्षात सरस्वती लता मंगेशकरको निधन भएको सामाजिक सञ्जालमा लेखका छन्। उनी लेख्छन्, ‘यस जगतकी एक शाश्वत स्वरले आज ९२ वर्षको उमेरमा श्री पञ्चमीको दिन सशरीर महाप्रस्थान लिनु भएको छ। एक साक्षत सरस्वती श्रद्देय लता मंगेशकरज्युप्रति, भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
अभिनेता दिव्य देवले मंगेशकरको निधन भएपनि उनको स्वरको जादु सधैं रहने भन्दै उनीप्रति श्रद्धान्जली दिएका छन्। दिव्य लेख्छन्, ‘तपाईंको स्वरको जादु सधैं रहने छ, लता दिदी। ठूलो क्षति भएको छ। उनको आत्माले शान्ति पाओस्।’
त्यस्तै, गायक राज सागरले लताको निधनलाई ‘साक्षात सरस्वतीको महाप्रस्थान’ भन्दै श्रद्धाञ्जली अपर्ण गरेका छन्। गायक थानेश्वर गौतमले लताप्रति श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘यो युगकी महान गायिका सरस्वतीकी उच्चतम बरदान आदरणीय लता मंगेशकरज्युको महाप्रस्थान भएको छ। वैकुण्ठ बासको कामना।’
संगीतकार हरि लम्सालले लताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्। उनी भन्छन्, ‘प्रसिद्ध गायिका स्वर कोकिला लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको खबरले अत्यन्तै मर्माहत बनायो। दिन पनि आज सरस्वती पुजाकै दिन पारेर जानु भएछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।