काठमाडौं– बुध्द एयरले आजबाट काठमाडौं–वाराणसी उडान सेवा सुरु गरेको छ। आज काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बुध्द एयरले सोमबार र शुक्रबार गरी साताको २ उडान भर्ने प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बुध्द एयरलाई वाराणसी उडान सुरु गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे। उनले क्षेत्रीय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले नेपालको पर्यटनलाई बढावा दिने बताए। मन्त्री अधिकारीले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने सरकारको तयारीलाई उडान कनेक्टिभिटीले थप बल पुग्ने विश्वास गरे।
मन्त्री अधिकारी तथा बुध्द एयरका प्रवन्ध निर्देशक बस्नेतले वाराणसी उडानका सम्पूर्ण यात्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत तथा बिदाइ गरे। काठमाडौं–वाराणसी सातामा दुई उडान सुरु भएसँगै पर्यटकीय तथा धार्मिक यात्रामा जाने तीर्थालुहरुलाई उनीहरूले बिदाइ गरेका हुन्।
नेपालबाट वाराणसी यात्रामा गएका यात्रुहरुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ।
प्राचीन शहर र सभ्यतासँग जोडिएका शहरहरू काठमाडौं र वाराणसी धार्मिक आस्थाका हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ। युनेस्को हेरिटेजले सम्मानित तथा संरक्षित संरचनाहरूले भरिएका यी दुवै शहर बुध्द एयरको उडानले सिधा सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बुद्ध एयरले विश्वास व्यक्त गरेको छ।
उसले यी दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय होलिडे प्याकेजहरु पनि सञ्चालनमा ल्याएको छ। वाराणसीको लागि क्लासिक काशी, बुध्द ट्रेल जसमा सारनाथ, बोधगया तथा वरपरका अयोध्या, इलाहावाद, प्रयाग स्नान इत्यादि समावेश गरिएको छ। एयरका अनुसार यी प्याकेजहरू ३ रात ४ दिन तथा ४ रात ५ दिनका हुनेछन् भने आवश्यकता अनुसार यसलाई बढाउन पनि सकिने बताइएको छ।
यसैगरी भारतीय तिर्थालु तथा यात्रुहरुको लागि विभिन्न धार्मिक तथा होलिडे प्याकेजहरु पनि रहेको कम्पनीले जनाएको छ। जसमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी दर्शन रहेको छ। युवा वर्गलाई लक्षित गरि हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारी इत्यादि पनि संचालनमा ल्याएको कम्पनीले जनाएको छ।
यस उडानबाट तेस्रो मुलुकका पर्यटकहरूलाई पनि नेपाल भित्र्याउन सकिने र सन् २०२० लाई सरकारको भ्रमण वर्ष मनाउने तयारीलाई थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ। काठमाडौं–वाराणसीको उडान अवधि ५० मिनेटको हुनेछ।
बुध्द एयरले अहिले प्रवर्धनात्मक दोहोरो भाडा दर नेपालबाट वाराणसी टिकटको मूल्य १४ हजार रुपैयाँ र क्लासिक काशी दर्शनको होलिडे प्याकेज शुल्क २५ हजार रुपैयाँ तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।