संगीतकार महेश खड्का काठमाडौं– गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बुले गाएको गीत ‘नोगेन’ यति बेला चर्चामा छ। एकातिर गीत राम्रो भएका कारण यसको चर्चा भइरहेको छ भने अर्कातिर संगीतकार बसन्त सापकोटाले यसमाथि लगाएको ‘चोरी’को आरोपका कारण गीतको चर्चा भइरहेको छ।
सापकोटाले केही दिनअघि आफूले संगीत संयोजन गरेको गीत ‘सागर सरी’सँग ‘नोगेन’ गीत मिलेकाले संगीतकार महेश खड्काले आफ्नो संगीत चोरेको आरोप लगाएका थिए। सापकोटाले लगाएको यो आरोपको विषयमा केही दिनसम्म त नोगेनका सर्जकहरु चुपचाप नै थिए। तर, शुक्रबार भने पत्रकार सम्मेलन गर्दै संगीतकार महेश खड्काले जवाफ दिएका छन्।
खड्काले आफूमाथि लगाइएको संगीत चोरीको आरोप मिडियाबाजीको एउटा परिणाम भएको बताएका छन्। पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लगाएको संगीत चोरीको आरोप निराधार भएको र चोरी प्रमाणित गर्न नसकेमा सापकोटाविरुद्धमा कानुनी बाटो रोज्ने पनि चेतावनी दिएका छन्।
‘संगीतकार बसन्त सापकोटाले जसरी यो कुरा प्रस्तुत गर्नुभयो, यसले स्पष्ट रुपमा के देखिन्छ, यो सीधा अर्थमा महेश खड्कालाई बद्नाम गर्न कोसिस गरिएको हो,’ खड्काले भने, ‘आफ्नो गीत संगीत कतै मिल्छ भन्ने लाग्यो र साँच्चै उहाँको गीत संगीतलाई मैले चोरेको भन्ने सोच्नु भएको हो भने यो कुरा यसरी गरिँदैन। आरोप लगाउन पनि कानुनी प्रक्रियाबाट जान आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।