काठमाडौं– भारतीय यागक तथा संगीतकार बप्पी लहरीको बुधबार निधन भएको छ। मंगलबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका लहरीको मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
६९ वर्षका उनी केही समययता आब्सट्रक्टिप स्लीप अपनिया नामको रोगबाट ग्रसित थिए। केही समययता उनलाई निरन्तर स्वास्थ्यमा समस्या आइरहेको थियो।
बलिउडमा ‘डिस्को किंग’को उपनामले चिनिएका बप्पी फरक शैलीको गीत गाएका कारण चिनिन्थे। ३ वर्षको उमेरदेखि संगीत कर्ममा लागेका लहरीले आफ्नो ४८ वर्षको गायन करिअरमा ५ सयभन्दा धेरै गीत गाएका छन्।
नेपालमा पनि लहरी निकै चर्चित गायक थिए। उनले संगीत गरेको ‘डिस्को डान्सर’ गीत नेपालमा निकै चर्चित छ। त्यो गीत सन् १९८२ मा प्रदर्शनमा आएको फिल्म ‘डिस्को डान्सर’मा समावेश गीत थियो, जसलाई विजय बेनेडिक्टले गाएका थिए।
यो गीत नेपालमा पनि निकै चर्चित गीत हो।
यस्ता थुप्रै गीतहरुका सर्जक रहेका बप्पी लहरीले नेपाली गीत पनि गाएका छन् भन्ने धेरैलाई थाहा छैन्। लहरीले २०२० मा एउटा नेपाली गीत गाएका थिए, जसमा देशप्रेमको भावलाई प्रस्तुत गरिएको थियो।
बप्पीले ‘फरक छ भाषा’ बोलको नेपाली गीत गाएका थिए। यो गतिलाई प्रदिप काफ्लले लेखेका थिए। बिबी अनुरागीले संगीतबद्ध गरेको यो गीत युट्युबमा सुन्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।